गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङका अनुसार मासिक ५ सय रुपैयाँका दरले उनीहरुलाई पोषण भत्ता उपलब्ध गराईएको हो। स्वास्थ्य सुधारका लागि पालिकाले अघिल्लो आर्थिक वर्षदेखि संक्रमितलाई पोषण भत्ता उपलब्ध गराउँदै आएको छ।
गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत र पालिका प्रवक्ता दामु वि.क. ले संक्रमित व्यक्तिलाई भत्ता वापतको रकम हस्तान्तरण गरेका थिए। रकम हस्तान्तरण गर्दै उपाध्यक्ष बस्नेतले एचआईभी एड्स आफैमा सरुवा रोग भएतापनि संक्रमितहरुलाई नआत्तिन आग्रह गरे। संक्रमितहरु उच्च आत्मबल सहित दैनिक क्रियाकलाप, नियमित औषधी सेवन, पोषण खानपान, र दैनिक शारिरीक ब्याम गर्न सकेमा लामो समयसम्म जीवन बचाउन सकिने भन्दै बस्नेतले भने, ‘तपाईहरु खुलेर आएपछि हाम्रो समाजमा थप संक्रमित हुनबाट बचाउन सकिएको छ, यसले राज्यलाई ठूलो सहयोग पुगेको छ,’ पालिकाका जनस्वास्थ्य अधिकृत ले स्वास्थ्य शाखाबाट उपलब्ध गराईएको भत्ता पोषणमा खर्च गर्न संक्रमितलाई आग्रह गरे।
एचआईभी संक्रमित एवं प्युठान प्लसका संस्थापक अध्यक्ष गोपाल भण्डारीका अनुसार प्युठानमा ऐरावती गाउँपालिकाका ३३ जना, प्युठान नगरपालिकाका १२ जना, स्वर्गद्धारी नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकाका ६ जना, झिमरुक गाउँपालिकाका ८ जना, गौमुखी गाउँपालिकाका ५ जना, नौवहिनी गाउँपालिकाका ५ जना र मल्लरानी गाउँपालिका ५ जना गरी ८२ जना एचआईभी संक्रमित सम्पर्कमा रहेका छन ।